काठमाडौं। पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।