फाइल तस्बिर
काठमाडौं। सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न थालिएको छ। रुखमा राखिएका झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले बत्ती निकाल्न सुरु गरेका हुन्।
क्षणिक आकर्षणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो।
पहिलो चरणमा काठमाडौंको न्युरोडको पिपलबोटमा राखिएका बत्ती अभियानकर्मीले हटाएका छन्। झट्ट हेर्दा आकर्षक देखिए पनि त्यसले रुखको आयु घटाउने, चराले रातको समयमा सुत्न नपाउने समस्या बढेको भन्दै हटाएको अभियानकर्मीको भनाइ छ।