काठमाडौं। नेपाल सरकारले विभिन्न १२ वटा कानुन र नियमावलीमा अध्यादेशमार्फत गरेको संशोधनको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। सरकारले आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी गरेको कानुन संशोधनको महासंघले स्वागत गरेको हो।
महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कूल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासङ्घको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने उल्लेख गरेको छ।
यसअघि महासङ्घले निजी क्षेत्रले लगानी सम्मेलनअगावै सो सम्मेलनमार्फत नेपालमा विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धनका लागि सहयोगीसिद्ध हुने गरी विद्यमान नियम तथा कानुनमा संशोधन तथा सुधारका लागि सरकारलाई सुझाएको थियो ।
सोही आधारमा नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, वन ऐन, भूमिसम्बन्धी ऐनलगायतका कानुनमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्याङ्कन, हदबन्दीलगायतका विषयलाई सम्बोधन गरेको छ ।
यही वैशाख १६ र १७ गते हुन गइरहेको लगानी सम्मेलनलाई लक्षित गरी महासङ्घको पहलमा नियमावली बनाई स्टार्ट अपको परिभाषा दिने विषय पनि यस पटकको केही नेपाल ऐन संशोधनमा परेकामा महासङ्घले खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।