काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा बढ्दो सहरीकरणले भूकम्पीय जोखिम झन बढाएको बताएका छन्। गोरखा भूकम्पको नवौँ स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको र बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका हुन्।
उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन्।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’