काठमाडौं। हिमालयन हाइड्रो एक्स्पोको चौथो संकरण सुरु भएको छ। आज बिहान ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले इभी र्यालीको शुभारम्भ गरेका हुन्।
विद्युतीय सवारी (इभी) र्यालीसहित एक्स्पो सुरु भएको हो।
र्याली शुभारम्भ कार्यक्रममा बोल्दै बस्नेतले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास बताए।
उनले भने, ‘हाइड्रो एक्स्पोअघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ।’ हाइड्रो एक्स्पोले नेपालको विद्युत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले बताए।
इपान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफैँ खपत गरौँ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए ।