काठमाडौं। लगानी सम्मेलनको सोकेसमा एक सय ४८ परियोजना राखिने भएको छ। लगानी बोर्डको ५८औं बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने परियोजनाको सूची स्वीकृत गरेको हो।
सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिने भएको छ।
मंगलबारको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डले जनाएको छ। ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबर थप लगानी स्वीकृत भएको छ। डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिए। स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिए।