काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पालमा पर्यटन, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताएका छन्।
आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा ढकालले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताएका हुन्।
अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्याउने बताए। त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे।
उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए ।