काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लगनीकर्ता भित्र्याउन राजनीति दलमा कुनै विवाद नरहेको बताएका छन्। तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइतबार सभापति देउवाले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न हिचकिचाउनु पर्ने राजनीतिक वातावरण नभएको बताएका हुन्।
नेपाल भारत र चीनको बीचमा रहेकोले बजारका हिसाबले यो क्षेत्र विश्वका लगानीकर्तालाई अवसरपूर्ण रहेको बताए । नेपालमा पूर्वधार नेपालको पर्यटन, ऊर्जा, उत्पादन क्षेत्र, खानी, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको ठूलो अवसर रहेको उनको भनाइ छ।
नेपालमा अहिले धेरै दक्ष जनशक्ति रहेको र नेपाल धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन चाहिरहेको उनले बताए ।
विदेशी लगानीकर्ताका लागि आवश्यक नीतिगत सुधारको काम निरन्तर भइरहेको उनले बताए । नेपालमा धेरै बहुराष्ट्रिय कम्पनीले राम्रो लाभांश लिइरहेको अवस्था हेरेर पनि यहाँ लगानी उपयुक्त रहेको स्पष्ट हुने सभापति देउवाको भनाइ छ।