काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा हालसम्म विभिन्न ४ सम्झौतामा हस्ताक्षर भएका छन्। आइतबारदेखि जारी सम्मेलनको दोस्रो दिनसम्म चार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्मेलनको पहिलो दिन आइतबार दुईवटा सम्झौता भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता आइतबार भएको थियो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष दातो थायन लाईले सम्झौता पत्रमामा हस्ताक्षर गरेका थिए।
त्यस्तै आइतबार डेटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्न बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो। बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप) बीच महत्वपूर्ण समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा वापका अध्यक्ष जियाद–अलेक्जेन्डर हायक र नापका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।
त्यसैगरी साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच नेपालको होटल व्यवसायमा सहकार्यसम्बन्धी १० करोड चिनियाँ युआन (१ अर्ब ८४ करोड २४ लाख २४ हजार ४०३ रुपैयाँ) बराबरको सम्झौता भएको छ ।