काठमाडौं। ४ वटा परियोजनाका लागि ९ अर्ब बराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभागले देशका विभिन्न स्थानमा बन्ने परियोजनामा हुने ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।
भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
त्यसैगरी काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब रुपैयाँ , संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा २ सय किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माणका गर्न ७ करोड ६६ लाख रुपैयाँ लगानी स्वीकृत गरिएको छ।
ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको उनले बताए ।
विभागले सोमबार स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ। सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी गत बैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शत्प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।