काठमाडौं। काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन क्लब, डान्सबार र दोहोरी साँझहरुलाई आग्रह गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन आह्वान गरेको हो।
एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न महानगरपालिकाले ताकेता गरेको छ ।
महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई पनि कर तिर्न भनेको छ। सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ।
महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ।