काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेठ २ गतेभित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन सबै संस्थागत विद्यालयहरूलाई निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालबाट शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएका हुन्।
उनका अनुसार एउटामा कक्षागत रूपमा जम्मा विद्यार्थी भर्ना संख्या र १० प्रतिशतले हुन आउने कक्षागत छात्रवृत्ति संख्या तथा अर्को फर्ममा छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीहरूको विवरण भर्नुपर्ने छ।
यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने उनको चेतावनी छ।