काठमाडौं । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार महत्वपूर्ण निर्णयहरू गरेकाे छ। बैठकमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा श्रीमणकुमार गौतमलाइ नियुक्त गर्ने निर्णय गरिएकाे छ।
यसअघि समितिको अध्यक्षमा कांशीराज दाहाल थिए । कार्यकाल सकिएपछि उनले एक महिनाअघि अवकाश पाइसकेका छन् ।
त्यसैगरी जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने समेत बैठममा निर्णय भएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
दुई पक्षीय वार्ताका लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरू सम्मिलित वार्ता टोली र प्रतिनिधिमण्डल गठन हुने उनको भनाइ छ ।
मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटनाको न्यूनीकरण गर्ने निर्णय पनि भएको छ।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। जसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरिसकेका छन्।