काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भएको बताएका छन्।
राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा आइतबार भएको अन्तर्क्रियामा मन्त्री पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका हुन्।
लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानूनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको मन्त्री पुनको भनाइ छ।
मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायीलाई आश्वस्त पारे।