बाँके। नेपालगञ्ज नाका स्थित एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आएको छ। नेपाल–भारत जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँचचौकी आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भन्सार जाँचचौकीको आज शुभारम्भ गरेका छन्।
गत वर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियोमार्फत आइसिपीको उद्घाटन गरेका थिए भने जमुनाहमा रहेको आइसिपीमा नेपाल र भारत दुवै तर्फबाट मालवाहक सवारी साधनको आवतजावत गरिएको थियो। दुई देशका प्रधानमन्त्रीले आइसिपीको उद्घाटन गरे पनि औपचारिक रूपमा सञ्चालनका लागि झण्डै एक वर्ष लागेको छ।
दुई अर्ब ७५ करोडको लागतमा निमार्ण भएको एकीकृत जाँच चौकी निर्माणका लागि विसं २०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले शिलान्यास गरेका थिए। भारततर्फ आइसीपीको शिल्यान्यास भएको दुई वर्षपछि नेपालतर्फ भूमि पुजन गरिएको थियो। एकीकृत भन्सार जाँचचौकीको निर्माण २०७७ साल असोज ६ गतेबाट सुरु भएको थियो।