काठमाडौं महानगरपालिकाको सहरका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने योजना अलपत्र परेको छ। निजी क्षेत्रले धमाधम सार्वजनिक शौचालय निर्माण गर्दा महानगर भने अलमलमा परेको हो।
शौचालय बनाउनकै लागि बर्सेनि बजेट छुट्याउने गरे पनि ठाउँ अभाव भन्दै महानगरले काम अगाडि बढाउन सकेको छैन। काठमाडौं महानगरपालिका पूर्वाधार विभाग प्रमुख राम थापाले शौचालय निर्माणका लागि कार्यदल नै बनाएर अध्ययन गरी ठाउँ पहिचान गरेको बताए।
कार्यदल बनाएर ठाउँ पहिचान गरेपनि ठाउँ अभावका कारण सार्वजनिक शौचालय निर्माणमा ढिलाइ भइरहेको हो। महानगरले कार्यक्रम बनाएर बजेट पनि छुट्याएको हो, तर ठाउँ अभावका कारण शौचालय बनाउन सकिरहेका छैनौँ। मानिसको जमघट हुने र धेरै आवतजावत ठाउँमा जग्गा नभएको उनको भनाइ छ।महानगरसँग आफ्नै जग्गा पनि छैन। त्यही भएर हामीले सार्वजनिक शौचालय निर्माणको काम अगाडि बढाउन नसकेको थापाले बताए।