काठमाडौं। पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट आफैंले माग फारम भरेर एक करोड रुपैयाँ ऋण लगेको प्रमाणीत गरेको छ।
ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिले जनाएको हो ।
लामिछानेले एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिएको र सो माग फारममा उनको हस्ताक्षर पनि रहेको छानबिनका क्रममा भेटिएको हो । सो प्रमाण समितिले आफ्नो प्रतिबेदनमा पनि पेस गरेको छ ।
गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्। तर, छानबिनका क्रममा सो ऋण गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र पछि लामिछानेले गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा सो ऋण तिरेको पनि देखिएको छ ।
गत माघ २२ गते नै सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध पूरक उजुरी दिएका थिए । उक्त उजुरीपछि महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो । झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ ।