सुनसरी। धरानमा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन बसपार्कको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत पूरा भएको हो।
बसपार्कको वित्तीय प्रगति भने ८५ प्रतिशत भएको धरान उपमहानगरपालिकाकाले जनाएको छ।
संघीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भइरहेको छ। ३३ करोड ७० लाख ४७ हजार रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०७८ असार ३० मा २३ करोड १५ लाख ३ हजार २ सय ७७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
हाल बसपार्कको टर्मिनल भवन निर्माण सम्पन्न भएको भने विद्युत् र पानीको लाइन विस्तारको काम ९८ प्रतिशत भएको छ। बसपार्कको बाह्य सडक, मार्वल, फल्स, सिलिङ लगाउने काम पनि अन्तिम चरण पुगेको निर्माण कम्पनीले जनाएको छ ।