काठमाडौं। काठमाडौं महानगरभित्रका मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्य अस्पतालमा काम नगर्न काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ।
महानगरले एक सार्वजनिक सूचना जारी गर्दै मेडिकल कलेजका अस्पतालमा कार्यरत चिकित्सकहरु उक्त अस्पतालमा नभेटिने गुनासो आउने क्रम बढ्न थालेपछि यस्तो नगर्न भनेको हो।
महानगरले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ ९(क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा उल्लिखित छ।
उक्त कानुनी व्यवस्थाअनुसार “आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने” भन्ने बाध्यात्मक व्यवस्था छ। सो कानुनी व्यवस्थाको यथार्थ परिपालना गर्न र गराउन सम्बद्ध व्यक्ति, पदाधिकारी तथा संस्थालाई काठमाडौँ महानगरपालिका सार्वजनिक रूपमा अपिल गर्न चाहन्छ। उक्त कानुनी व्यवस्थाबमोजिम सर्वसाधारणहरूले अस्पतालहरूबाट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्थाबमोजिम गर्नेरगराउने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ।’