काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफूमाथि उठेको विषयमा छानबिन समिति बनाउन तयार देखिएका छन् । तर त्यसका लागि उनले एउटा सर्त अघि सारेका छन् ।
चितवनमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन हुन नहुने बताए । सहकारी ठगी प्रकरणमा कांग्रेसको मागअनुसार छानबिन समिति बनाइए त्यसलाई स्वीकार गर्न आफू तयार रहेको तर आफूले संसद्मा बोल्न भने पाउनुपर्ने उनको भनाइ थियो ।
‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्मा बोल्न पाउनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसो गर, त्यसो नगर भनेर आदेश दिने होइन ।’