काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।