काठमाडौं। त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठन हुने भएको छ। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठक भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको जानकारी दिएकी हुन्।
मन्त्री श्रेष्ठले समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको बताइन्।
उनले भनिन्, “त्रिभुवन विश्वविद्यालयका नाममा भएका सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण असम्भव काम हुन्छ, त्यसैले निश्चित ठाउँमा केन्द्रित रहेर तीन महिने अवधि दिएर कामको लागि प्रस्ताव तयार गर्दै छौँ ।”
उनले त्रिविको शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी सङ्घरसङ्गठनसँग छलफल भएको बताइन् । उनले शैक्षिक पात्रो बनाउनका लागि मुख्य भूमिका दलगत रूपमा आबद्ध प्रशासन र कर्मचारी सङ्गठनको एउटै धारणा हुनुपर्नेमा जोड दिइन् ।