झापा। झापाको दमक नगरभित्रका अव्यवस्थित बिजुलीका तार र पोल हटाउन सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको हो।
प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।
त्यसैगरी, ४०० भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी ५.५ मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोल समेत हटाउने प्राधिकरणले जनाएको छ।
अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको छ।