काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास योजना बनाउँदा त्यसको सान्दर्भिकता र आवश्यकतालाई हेरेर तय गर्नुपर्ने बताएका छन्। सेन्टर फर डमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले ‘तराई मधेशको सन्दर्भमा विकासको भविष्य’ विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्।
उनले विकास निर्माणका काम निकै सुस्त तथा अनावश्यक कार्यमा लगानी गरेको आफूले पाएको बताए। कतिपय विकास निर्माणका लागि थोरै रकम दिएपछि पूरा हुने खालको छ भने कतिपय विकास निर्माण अनावश्यक तरिकाले तयार गरेर राखिए पनि प्रयोगमा नआएको उनको भनाइ छ । पालिका पालिकामा अस्पतालका लागि भवन बनेका छन् तर प्रयोगमा नआएका कारण कतिपय ठाउँमा त्यो खण्डहरको अवस्थामा पुगेको बताउँदै उनले विकासको योजना बनाउँदा त्यसका सान्दर्भिकता र आवश्यकतालाई हेरेर तय गर्नुपर्ने कुरामा जोड दिएका हुन्।
तराई मधेशमा घुम्दा पानीमा समस्या छ भने थाहा भयो, हाहाकारकै अवस्था छ जस्तो जानकारी गराइएको थियो तर पछि अध्ययन गर्दा अवस्था फरक देखिएको बताउँदै उहाँले त्यसको बारेमा बृहत् अध्ययनको आवश्यकता रहेको बताए। सिक्टा आयोजना सकिने बेलासम्म खेतमा धान होइन घर फल्छ भनि टिप्पणी हुने गरेको बताउँदै उनले आयोजनाको काम थालनी गर्दा त्यसको हरेक पाटोको अध्ययन गरेर मात्र सुरुवात गर्नुपर्ने बताए।