बागलुङ। हरिचौर–मल्म–पाण्डवखानी सडकको काम सुरु भएको दुई वर्षमा २५ प्रतिशत मात्र पूरा भएको छ। सडक निर्माणको सम्झौता गरेको दुई वर्ष पुग्न लाग्दा हरिचौर–मल्म–पाण्डवखानी सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै भएको हो।
सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/लोपूर्ण जेबी निर्माण कम्पनीले कामलाई निरन्तरता दिइए पनि भने गति सुस्त रहेको गलकोट नगरपालिकाका स्थानीयको भनाइ छ।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तरगत बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित चार ठूला सडकमध्ये सबैभन्दा कम काम हरिचौर–पाण्डवखानी सडक खण्डमा भएको स्थानीय बताउँछन्।
सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
२०७९ भदौमा २५ करोड २० लाखमा ठेक्का सम्झौता भइ सुरुको हरिचौर–मल्लसम्मको ८ किमि सडक कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौरबाट भैँसेसम्मको सडक स्तरोन्नति सकिएको र बाँकी अफ्ठ्यारा काम सकिने चरणमा रहेको निर्माण कम्पनीको भनाइ छ। भुक्तानीको समस्याका कारण यसअघि काम अघि बढ्न नसकेको तर अब भने काम धमाधम भइरहेको कम्पनीले जनाएको छ।