काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तु नै बजेटमा समावेश हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले बजेटसँग मौद्रिक नीतिको तालमेल हुने बताएका हुन्।
मन्त्री पुनले आगामी बजेट सरकारको मात्रै नभएर निजी क्षेत्रको पनि मनोबल उच्च हुने गरी आउने बताए।
उनले भने, ‘नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने नीति तथा कार्यक्रम समावेश छैन नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तु नै बजेटमा समावेश हुन्छ।’
अर्थमन्त्री पुनले आगामी बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव समेत समावेश हुने विश्वास व्यक्त गरे ।
‘बजेट निर्माणको एउटा तहमा पुगेपछि राष्ट्र बैंकसँग छलफल हुन्छ र मौद्रिक नीति बजेटसँग तालमेल हुनेगरी नै आउँछ,’ उनले भने ।