नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब राजस्व संकलन भएको छ ।
जिल्लामा रहेका संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको हो।
जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको छ । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका बताइएको छ।