संखुवासभा। संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनामा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। आयोजनाका मुआब्जा आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको हो।
आयोगका सदस्य मनोज दुवाडीको टोलीले आइतबार अरुण तेश्रोको पावरहाउस स्थलसम्मको २४ किलोमिटर सडकखण्डको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनपछि आयोगले सदरमुकाम खाँदबारीमा पीडित र सरोकारवालाबीच छलफल गरेर गुनासो समेत संकलन गरेको छ । मुआब्जा पीडितले आयोगमा ३ महिना अघि उजुरी हालेका थिए ।
सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयको खातामा पठाए पनि पीडित पक्षले पाएका छैनन् । छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद चर्किएको हो । प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउन बाँकी छ ।
स्रोत कान्तिपुर