काठमाडौं। चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार राजधानीमा आयोजित ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयक विचारगोष्ठीमा बिआरआईको लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठले योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने बताए।
यस अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास प्रयासमा सँगै संलग्न हुनका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय गरिसकिएको जानकारी दिए।
नेपाली व्यापारीहरू चीनमा आफ्नो बजार खोज्न उत्सुक रहेकाले चीनबाट यसमा उच्चस्तरको सहयोग गरिने विश्वास व्यक्त गर्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा ठूलो स्रोत देश चीनको नेपालमा हुने लगानीमा पनि नेपालले आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गरे ।
दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ।