बाँके। बाँकेमा हावाहुरीका कारण विद्युतका पोल र ट्रान्सफर्मर ढलेपछि विद्युत सेवा अवरुद्ध बनेको छ। सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सय भन्दा बढी बिद्युत्का पोल र चार वटा भन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएका हुन्।
भीषण हावाहुरीले धेरै ठाउँका बिद्युत् पोलहरू ढालेर क्षतिग्रस्त बनाएकोले सोमबार साँझबाटै बाँकेमा बिद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएको छ।
हावाहुरी रोकिने बित्तिकै वितरण केन्द्रबाट प्राविधिकहरूको पाँच वटा टोलीलाई परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारमा खटाएको केन्द्रले जनाएको छ। सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको हो।
सोमवार राती फेरी हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य पनि अवरुद्ध हुन जाँदा बिद्युत् सुचारु गर्न नसकिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।