हुम्ला। हुम्लाको नारादेखि हिल्सासम्मको सडक स्तरोन्नति कार्य पुन सुरु भएको छ। केही समय रोकिएको नारा–हिल्सा सडकको स्तरोन्नति कार्य सुरु भएको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ।
आयोजनाले सडक स्तरोन्नतिका लागि सडक बन्द हुने जानकारी समेत दिएको छ।
आयोजनाले सूचना प्रकाशन गरेरै सडकमा स्तरोन्नति कार्य सुरु भएको कारण यातायात सेवा आगामी जेठ २२ गतेसम्मका लागि बन्द रहने जानकारी दिएको हो।
यातायात सेवा बन्द नगर्दा काममा बाधा पुग्ने, ढिलो हुने र पछिसम्म काम गर्नु पर्ने भएपछि छोटो समयका लागि यातायात सेवा बन्द गरेर कामलाई तीव्रता दिनु परेको बताइएको छ। यसअघि ट्र्याक खोलेर सडक सञ्चालनमा रहेको थियो ।
हिउँमा परेको हिउँ पन्छाएर एक महिना अगाडी उक्त सडक सुचारु भएको थियो । अहिलेको स्तरोन्नति कार्यमा सो खण्डको सडक आठ मिटर चौडा निर्माण गरिनेछ । साथै ग्याविन पनि लगाउन सुरु गरिएको छ ।