काठमाडौं। तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको छ। सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थासहित तीन सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया अगाडि बढाएको हो।
विभागले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्थालाई समस्याग्रस्त किन घोषणा नगर्ने भन्दै १५ दिनको म्याद राखि वैशाख २१ गते स्पष्टीकरण सोधेको थियो।
तीनवटै संस्थाले पेस गरेको स्पष्टीकरण अध्ययन भइरहेको र उक्त स्पष्टीकरणको आधार समेत हेरेर समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्ने अथवा नगर्ने भन्ने निर्णय हुने विभागले जनाएको छ।
लामो समेयदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै उजुरी परेपछि तीनवटै संस्थाले बचतकर्ता र संस्था सञ्चालक समितिलाई पटक–पटक बोलाएर छलफल समेत गरेको थियो।
त्यसपछि पनि सञ्चालक समितिबाट बचतकर्ताको रकम फिर्ता गर्ने बलियो आधार पेस गर्न नसकेको र कार्यायोजना पेस गर्ने नाममा बचतकर्तालाई अल्मल्याउने काम मात्रै भएको भन्दै बचतकर्ता विभागमा धर्ना दिन पुगेका थिए ।