बुटवल। बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलका विभिन्न स्थानमा चुरे क्षेत्रको बाढीबाट हुन सक्ने क्षति व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । वर्षाको दिन नजिक आउँदै गरेकोले सङ्घले समयमै बाढीको व्यवस्थापनका लागि उपमहानगरको ध्यानाकर्षण गराएको हो।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयलाई ध्यानाकर्षणपत्र बुझाउँदै बुटवलको चुरे क्षेत्रबाट आउने वर्षायामको पानीको व्यवस्थापन गर्न सकिएन भने बुटवलको मुख्य बजार हिउँदयाममा नदी किनारमा बनाइने अस्थायी बजार जस्तै हुने अवस्था रहेको बताए।
उनले बुटवलका कलभर्ट र नाली साँघुरिँदै गएको तर बाढीको जोखिम बढ्दै गएकोले बुटवलका विभिन्न स्थानमा बाढी आएको अवस्थामा समस्या पर्ने बताए । सरकारको कर, राजस्व, बहाल कर, व्यवसाय कर र सम्पत्ति करका साथै आयकरसँगै रोजगारीमा समेत प्रभावित पार्ने भएकाले समयमै त्यसको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।