फाइल तस्बिर
रुकुमपश्चिम। रुकुमपश्चिम सिँंचाइ नहर भत्काएर सडक बनाउन थालिएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ र २ मा रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाको नहर भत्काएर सडक बनाउन थालिएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको उक्त आयोजनाको काम पूरा नहुँदै भत्काउन थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले नहरको ९५ प्रतिशत काम सकिएको बेला भत्काएर सडक बनाउन थालिएको जानकारी दिए।
नहर भत्काएर सडक बनाउँदा वडा नं २ को क्षेत्रमा रहेको करिब ३० हेक्टर खेतियोग्य जमिन बाँझै हुने उनको भनाइ छ । क्रमागत योजना अन्तर्गतको उक्त नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भइसकेको छ।
२०३२ सालदेखि कुलो बनाएर यहाँ सिँचाइको सुविधा हुँदै आएको छ । स्थानीय किसान दिवसा ओली खड्काले बल्लतल्ल बनेको नहर अब सडक हुने दुर्दशा भएको बताए।नहर नभत्काइदिन स्थानीय सरकारसमक्ष किसान गएर माग गर्दा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । नहरबाट सिँचाइ भएपछि यहाँ गहुँ, धान, मकै, तरकारी खेती हुँदै आएको छ । भर्खरै बनेको नगर भत्काएर फेरि सडकको नाममा ठुलो धनराशि खर्च हुने र किसानलाई मर्का पर्ने काम नगर्न स्थानीयले माग राखेका छन् । गोरखापत्रबाट