काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ। आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।