तुलसीपुर। जिल्लामा दिनप्रतिदिन गर्मी बढ्दै गएपछि विद्यालय बन्द गरिएको छ। तुलसीपुर र घोराही उपमहानगरले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
बढ्दो गर्मीलाई मद्देनजर गर्दै जेठ १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जेठ २३ गतेदेखि पठनपाठन नियमित हुने जानकारी दिए।
यसैगरी शान्तिनगर गाउँपालिकाका विद्यालयहरू ५ दिनसम्म बन्द गर्ने निर्णय गरिएको छ। अत्यधिक गर्मी बढेपछि १८ गतेदेखि २२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
यसैगरी जिल्लाका ३ स्थानीय तहले यसअघि २ दिन विद्यालयमा बिदा दिएका छन्। लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले वैशाख १७ र १८ गते २ दिन विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक सूचनामार्फत गरेका छन्।