काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले बजेटको उद्देश्य अर्थतन्त्रलाई चलायमान र निजी क्षेत्रको मनोबल बढाउने भएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउने र निजी क्षेत्रको मनोबल बढाउने बजेटको उद्देश्य रहेको बताएका हुन्।
अर्थमन्त्री पुनले महत्वाकांक्षा नराखी जनताको आवश्यकता पूरा गर्ने गरी बजेट ल्याएको समेत बताए।
उनले भने, ‘पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट प्रस्तुत गरेको छु।’
ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट नगएको जिकिर गर्दै अर्थमन्त्री पुनले १६५ निर्वाचन क्षेत्रमा नै पुग्ने गरी व्यवस्था गरिएको बताए ।