काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कर्मचारी नेताले आफ्नै हाकिममाथि कुटपिट गरेको खुलासा भएको छ । विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीभीआईपी कक्षअगाडिको निगमको कार्यालयमै सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेमाथि कुटपिट भएको हो ।
नेपाली कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले पालिखेमाथि कुटपिट गरेको आरोप लागेको छ । कुँवरले पालिखेलाई एक सफाइ कर्मचारीलाई रात्रि सत्रमा ड्युटी मिलाइदिन दबाब दिँदै आएको तर सोअनुसार काम नभएपछि उनी कुटपिटमा उत्रिएको निगमका एक कर्मचारीले जानकारी दिए ।
मुटुका बिरामी पलिखेलाई मेरुदण्डसम्बन्धी समस्या पनि छ भने कुटपिटबाट उनको गालालगायतका भागमा चोटपटक लागेको बताइएको छ । गत शनिबार भएको उक्त घटनापछि पीडितले प्रहरीमा दिएको उजुरी समेत दर्ता नभएको पाइएको छ ।
बरु कुटपिट गर्ने कुँवरले नै पालिखेविरुद्ध उजुरी बोकेर गएको पाइएको ती कर्मचारीले बताए । पीडित गौशालास्थित प्रहरी वृत्तमा पुग्दा कुँवर पहिला नै उजुरी लिएर पुगिसकेको र प्रहरीले पहिला अर्को पक्षको निवेदन आइसकेको भन्दै त्यसै फर्काइदिएको ती कर्मचारीको भनाइ छ ।