स्याङ्जा। स्याङ्जाको पुतली बजार नगरपालिका १४, लामागेमा क्रसर नराख्न उच्च अदालत पोखराले आदेश जारी गरेको छ। उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराको एकल इजलासले पुतली बजार नगरपालिकालाई लामागेमा क्रसर नराख्न आदेश जारी गरेको हो।
पुतली बजार नगरपालिकाले लामा कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई अवैध पत्र मार्फत आँधिखोला दोहन गरी लामागेमा मापदण्ड विपरीत क्रसर राख्न अनुमति दिएको थियो । स्थानीयले क्रसर राख्दा मापदण्ड भित्र पुल, विद्यालय र घना बस्ती रहेको भन्दै विरोध जनाउँदै आएका थिए । स्थानीय अग्निप्रसाद भण्डारीले क्रसर सञ्चालनको विरोधमा मुद्दा दायर गरेका थिए।
पुतली बजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई विपक्षी बनाई जारी गरिएको परमादेशमा १५ दिन भित्र आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आगामी असार ३ गते अन्तरिम आदेशको छलफल समेत हुने सोही पत्रमा भनिएको छ ।