काठमाडौं। ‘नेपालको विद्युत् बजार तथा नियमनका विकसित परिदृष्य’ विषयक तालिम सम्पन्न भएको छ। मृगशीरा कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सर्भिसेस कम्पनीले शनिबार आयोजना गरेको १ दिने तालिम कार्यक्रम सम्पन्न भएको हो।
तालिम कार्यक्रममा विद्युत् क्षेत्रका २६ जना प्रशिक्षार्थीको सहभागीता थियो।
हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता करिब ३२०० मेगावाट पुगेको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्तो जलविद्युत् आयोजना निर्माण भइसकेको, ४०० केभी क्षमताका प्रसारण लाइन धमाधम निर्माण हुन थालेको र अबको १ दशक भित्र विद्युत् उत्पादन क्षमता झन्डै १० गुणाले बढाएर २८ हजार ५०० मेगावाट सरकारको लक्ष्य रहेकोले यस क्षेत्रको महत्त्व बढेर गएको तालिम कार्यक्रममा बताइएको छ । यसका लागि अबको १ दशक भित्र ६० खर्ब रूपैयाँ लगानी आवश्यक रहेको तर कुन(कुन क्षमताका के(कस्ता जनशक्ति विद्युत् क्षेत्रको आगामी लक्षित विकास तथा नियमनको लागि आवश्यक छन् भन्ने विषय सरकारले अध्ययन गरेर किटानका साथ भन्न नसकेको अवस्थाबारे पनि कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्युत् नियमन आयोगका सदस्य गौतम डंगोलले विद्युत् क्षेत्रमा केही राम्रो र नयाँ गर्ने आँट तथा जोस भएका युवा जनशक्तिलाई यस्ता तालिमले अघि बढ्न अझ हौसला दिने बताए ।