ललितपुर। ललितपुरमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ। ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेर सुरु हुने भएको छ।
मेलामा बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ । मेला बुधबारसम्म सञ्चालन हुने छ भने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने बताइएको छ।
मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गर्नेछन् ।
स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बाग्मती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताए ।