काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको नेपालको १० महिनाको आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेको देखिएको हो।
समीक्षा अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३.४ प्रतिशतले बढेको थियो।
उक्त तथ्याङ्कमा आयामा दुई दशमलव ४ प्रतिशत, निर्यातमा तीन दशमलव ६ प्रतिशत संकुचन आएको बताइएको छ भने कूल वस्तु व्यापार घाटा दुई दशमलव ३ प्रतिशतले घटेको छ ।
नेपालको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै नेपालको कुल विदेशी विनियम संचिती १९ खर्ब, ४२ अर्ब रहेको छ भने विस्तृत मुद्राप्रदायक ८ दशमलव १ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ दशमलव ८ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रमा गरिएको कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ । निक्षेपको वृद्धिदर १२ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।