सर्लाही। बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा (हाल निलम्बित) सहित ६ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा, नगरपालिकाका उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे।
अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी भरत ताल निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।
आयोगको आरोपपत्रमा नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। यीमध्ये चौधरीलाई कैद र जरिवानाको मात्रै माग दाबी गरिएको छ भने अन्य सबै आरोपी विरुद्ध समान ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको बिगो दाबी गरेको छ।
थापा विरुद्ध यसअघि पनि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले गत चैत २८ गते पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो माग दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।