बागलुङ। बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने भएको हो।
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने उल्लेख गरिएको हो।
मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।