बझाङ। बझाङमा निर्माणाधिन चैनपुर सेती जलविद्युत् आयोजना आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरेको २१० मेगावाटको जलविद्युत् आयोजना निर्माण आगामी ५ वर्षमा सक्ने लक्ष्य राखेको हो।
विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्युत् आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले ३ वटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको छ । एउटा अडिट सुरुङ १३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ । साथै एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको छ ।
४ वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
६ वटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले ३ वटाको निर्माण भइरहेको जनाएको छ। अहिले अडिट नम्ब ३। अडिट नं ६ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको छ। ४५० मिटर लम्बाइको अडिट नं ३ मा सबैभन्दा बढी १३० मिटर सुरुङ खनिएको छ ।
बीचमा कुनै अवरोध नआए ५ वर्षमा ६ वटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर पवना बॉधलगायतका काम गर्दै बिजुली बाल्ने तयारी रहेको आयोजनाले जनाएको छ।