नवलपरासी । कावासोतीमा ढल निर्माण गर्ने क्रममा खाल्डोमा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ। ढिस्कोले पुरिएर कावासोती नगरपालिका– ५ लक्ष्मीनगर निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको निधन भएको हो ।
करिब ८ फिट गहिरो ढल खनेको ठाउँमा माथि थुपारेको माटो खसेर उनीहरु पुरिएका थिए। उनीहरूलाई स्काभेटर र स्थानीयको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल, डण्डा लगिएको थियो । तर, पुग्नासाथ अस्पतालले मृत घोषणा गरेको थियो ।
कामदारको मृत्यु भएपछि स्थानीयले कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गरेका थिए । कावासोती थानाचोकदेखि पूर्व हाटबजारसम्म लगिएको नाला खन्न छिटो काम गर्न मेयरलाई पटकपटक आग्रह गरे पनि वेवास्ता गरेको स्थानीयको आरोप छ ।