फाइल तस्बिर
इलाम। इलामको फाकफोकथुम गाउँपालिकामा ६ वटा सिंचाइ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। चालु आर्षिक वर्षमा सञ्चालित ४ करोड १९ लाख ८२ हजार ४३२ रूपैयाँ लागतका ६ वटा सिंचाइ आयोजनाको काम सकिन लागेको हो।
फाकफोकथुम गाउँपालिका साना सिंचाइ कार्यक्रमले आयोजनाअन्तर्गत ड्याम र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएको जनाएको छ।
साना सिंचाइ कार्यक्रमअन्तर्गत वडा–६ बाहेक यहाँका सबै वडामा १–१ वटा सिंचाइ कुलो निर्माण भएको छ। वडा–१ स्थित धलपुजे टारीटोलमा ६६ लाख ७० हजार २७२ रूपैयाँ लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी थुलपुजे टारी सिंचाइ कुलो र वडा–२ स्थित राईगाउँमा ९९ लाख ४४ हजार ६८६ रूपैयाँ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिंचाइ निर्माण भएको छ ।
वडा–३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा ६० लाख ८१ हजार ४१६ रूपैयाँ लागतमा १६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिंचाइ कुलो र वडा–४ स्थित गुरुङगाउँमा ५४ लाख २८ हजार ९२० रूपैयाँ लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिंचाइ कुलो निर्माण भएको छ ।
यसैगरी, वडा–५ स्थित फुङगाउँमा ३९ लाख १४ हजार ३७ रूपैयाँ लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुडखोला कुलो र वडा–७ स्थित तिवागाउँमा ९९ लाख ४३ हजार ९८ को लागतमा १२७ परिवारको खेत सिंचाइ गर्नेगरी तिवाखोला ठाडे सिंचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको हो।