नेपालगञ्ज। हावाहुरीका कारण नेपालगञ्जमा विद्युत् सेवा अवरुद्ध भएको छ। गए राति आएको हावाहुरीका कारण विभिन्न स्थानका विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगञ्जको विद्युत् सेवा अवरुद्ध भएको हो।
गए राति १० बजेतिर आएको हावाहुरीले धेरै स्थानहरूमा विद्युत्का पोलहरू ढलेका र दर्जनौँ स्थानहरूमा तारहरू चुँडिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।
राति देखिनै विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ। नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेको समेत प्राधिकरणले जनाएको छ। अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ । बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेको प्राधिकरणको भनाइ छ।