काठमाडौं। प्राकृतिक विपदबारे रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षक माथिको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न एसएमएसद्वारा पूर्वसूचना दिइने जानकारी दिएकी हुन्।
निजी तथा सामुदायिक रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यस प्रकारको पूर्वसूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको उनले जानकारी दिएकी छन्।
छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलमा सांसदहरूले राखेको जिज्ञासाको सम्बोधन गर्दै मन्त्री शर्माले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण एवं गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिइन्। पत्रकारको न्यूनतम पारिश्रमिकका सम्बन्धमा न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलले अनुगमन गरिरहेको उनले जानकारी दिएकी छन्।