काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको धर्ना कार्यक्रममा सांसद, नेता र अन्य व्यवसायीहरुले समेत साथ दिएका छन्। उद्योगहरुको नवीकरण गर्न माग गर्दै क्रसर व्यवसायीले एक हप्तादेखि गरिरहेको धर्नामा सत्तापक्ष र प्रतिपक्ष दलका सांसद, नेता र विभिन्न व्यावसायीहरुले समेत साथ दिएका हुन्।
पूर्व शहरी विकास मन्त्री एवम् एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी क्रसर व्यवसायीहरुको धर्नामा सहभागी भएर ऐक्यबद्धता जनाइसकेका छन्।
आजको कार्यक्रममा ऐक्यवद्धता जनाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् एमाले नेता पदम गिरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् कांग्रेस नेता रामहरि खातिवडा, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव, रोशन दाहाल तथा बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्री सहभागी हुने बताइएको छ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले २०७९ सालको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार उद्योगहरुको नवीकरण गरिदिन माग गर्दै असार १ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।